नेपाल खुला दिसामुक्त घोषणा, अब सडक बालबालिका लागि काम गर्ने प्रधनमन्त्रीको भनाई


१३ आश्विन २०७६, सोमबार १५:४२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त घोषणा भएको दिनले नेपाललाई नयाँ उचाइमा उठाएको बताएका छन् ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि यस्तो कदम उठाउनुपरेको उनले बताएका छन् ।  ‘हामीले हरेक दिन एक कदम अगाडि बढाएका छौँ । आज नेपाल एक कदम अगाडि बढेको छ, यो एकदम महत्त्वपूर्ण सिँढी हो’, राष्ट्रिय सभागृहमा सोमबार भएको खुला दिसामुक्त नेपाल घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘केही पहिलेसम्म वार्षिक १२ हजार बालबालिका संक्रमित रोगका कारण मर्ने गरेका थिए । अहिले १२०० मा झरेको छ । सरसफाइले यो सुधार ल्याएको हो ।’ स्वच्छता र सभ्यताका दृष्टिले यो कदम एकदम महत्त्वपूर्ण भएको प्रमले बताए । ‘यसबाट मानिस निरोगी हुने र स्वास्थ्य उपचारमा लाग्ने खर्च बच्ने छ’, उनले भने, ‘बालबालिका मृत्युदर घट्नेछ । सरदर आयु पनि लम्बिन्छ ।’ स्वस्थ जीवन, स्वस्थ्य नागरिकका लागि सरकारले विभित्‍न अभियान संचालन गरिरहेको उनले जानकारी दिए ।

‘ज्येष्ठ नागरिकदेखि स-साना बालबालिकाको स्वास्थ्यबारे ध्यान दिइरहेका छौँ’, उनले भने, ‘अब नेपाललाई सभ्य देश घोषणा गर्ने हो । मैले भन्दै आएको छु नेपालमा कोही भोकै बस्नुपर्दैन र भोकै मर्नु पर्दैन ।’ ओलीले खुला दिसामुक्तपछि अब सडक बालबालिका र बेसहाराका लागि काम गर्ने बताए । ‘सडक बालबालिका र बेसहारा मानिसका लागि सरकारले ध्यान दिइरहेको छ’, उनले भने, ‘जनताप्रति जिम्मेवार हुने गरि सरकार अगाडि बढिरहेको छ । सडक मानवमुक्त र भिखारीमुक्त देश घोषणम गर्नेतर्फ अगाडि बढिरहेको छ ।’ अब समग्र सरसफाइ र स्वच्छ नेपालतर्फ सरकार अगाडि बढिरहेको उनले बताए । ‘बाटाहरू बाटाका छेउ घरखेत डाँडापाखा हेरिरहुँ जस्ता भएको नेपाल बनाउन चाहन्छौं’, उनले भने, ‘यो दिन ल्याउन सरकार र यसका अंगहरू विकास साझेदारसहित सबैको योगदान जरुरी छ । यत्तिमै हामीले सन्तोष गर्ने होइन । अझ‌ै अगाडि बढ्नुपर्ने छ ।’

ओलीले दीगो विकास लक्ष्य २०३० मा पूरा गर्ने प्रतिवद्धता जनाए । ‘अहिलेको गतिअनुसार जाने हो भने हामी लक्षहरु समयमै प्रप्त गर्छौँ’, उनले भने, ‘सरकार योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ । कुनै पनि देश अरुले बनाएर बन्‍ने होइन, देश हामीले बनाउने हो ।’ उनले जेलमा हुँदा शौचालय जाँदा लाइन लाग्ने गरेको प्रसंग पनि कोट्याए । ‘जेलमा हामी हुँदा लाइन लाग्थ्यौं । पछि एक कोठा खाली गरेर सौच गर्थ्यौं’, उनले भने, ‘अहिले हामीले घर-घरमा शौचालय निर्माण गरेका छौं । अझै अगाडि बढ्दै जाऊँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here