कास्की । कास्कीमा आवासको हक सुनिश्चित गर्नुपर्ने माग राख्दै भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूले विरोध प्रदर्शन गरेका छन् ।
भूमिहीन तथा अव्यवस्थित बसोवासी सरोकार संघर्ष समितिको आयोजनामा सोमवार उक्त प्रदर्शन भएको हो । आफ्ना मागहरू सम्बोधनका लागि दबाब दिने उद्देश्यले आयोजित प्रदर्शनमा सहभागीहरूले सरकार र राजनीतिक दलहरूले विगतमा गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरे ।
प्रदर्शनकारीहरूले ‘हाम्रो नारा हाम्रो भोट, बिस्र्यौ वाचा, दियौ चोट’, ‘आवासको हक सुनिश्चित गर’ तथा ‘झुटो बोल्न आउँदैन, अर्को चोटी भोट पाउँदैन’ जस्ता नाराहरू लगाएका थिए । संघर्ष समितिले निर्वाचनका समयमा गरिएका बाचाहरू कार्यान्वयन नभएको र भूमिहीनहरूको समस्या समाधानमा राज्य उदासीन रहेको आरोप लगाएको छ ।
संविधान प्रदत्त आवासको हकलाई व्यवहारमा उतार्न र अव्यवस्थित बसोवासीलाई स्थायी बसोवासको व्यवस्था मिलाउन उनीहरूले जोडदार माग गरेका छन् । वर्षौंदेखि थातथलोको सुरक्षा र लालपुर्जाको प्रतीक्षामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।






