सरकारले कस्मेटिक सामानको मापदण्ड तोक्यो


१२ आश्विन २०७६, आईतवार १७:०५ मा प्रकाशित

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले तीन समूहका सौन्दर्य प्रसाधन (कस्मेटिक्स) को लागि मापदण्ड तोकेको छ ।

उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा हालै बसेको नेपाल गुणस्तर परिषद्को १०१ औँ बैठकले नेपालमा आयात, उत्पादन, बिक्री वितरण एवं प्रयोग हुँदै आएका विभिन्न सौन्दर्य प्रशाधनहरुको मापदण्डलाई पारित गरी लागू गर्ने निर्णय गरेको हो ।

मापदण्डमा सौंन्दर्य सामग्रीहरुका लागि चाहिने साधारण मिश्रण, अम्लीय वा क्षारीयपना, सूक्ष्म जीवाणुहरुको उपस्थितिलगायत विभिन्न घातक ग¥हुगो धातुहरु जस्तै सिसा (लिड), आर्सेनिक, पारो (मर्करी) र क्याडमियम आदिका अधिकतम मात्रासहितका विशेष मिश्रण, बट्टा/खोलसम्बन्धी व्यवस्था, सूचना (लेबलिङ) सम्बन्धी व्यवस्था, नमूना सङ्कलन र परीक्षण प्रविधि आदिबारे समावेश गरिएको छ । नेपाली बजारमा बिक्री वितरण र प्रयोग भइरहेका सौंन्दर्य सामग्रीहरुमा पाइने गरिएका अत्यधिक पारो, सिसा, आर्सेनिक र क्याडमियमजस्ता रसायनहरु विश्व स्वास्थ्य सङ्गठनअनुसार मानव स्वास्थ्य र वातावरणमा असर पु¥याउने विभिन्न मुख्य १० अति घातक रसायनमध्येका चार प्रमुख रसायन हुन् । यी रसायनले स्नायु प्रणाली, स्मरण शक्ति, हेर्ने र सुन्ने क्षमतामा ह्रास, प्रजनन प्रणाली, नवजात शिशु, महिला, शिशुको वृद्धि विकासमा अवरोध पु¥याउनुको साथै मिर्गौला, मुटु, फोक्सो, क्यान्सर, हाड कमजोर वा भाँचिने, मस्तिष्कमा हानी पु¥याउँछ ।

उक्त मापदण्डहरुको प्रभावकारी कार्यान्वयनबाट नेपाल पक्षधर रहेका संयुक्त राष्ट्रसङ्घीय बाल अधिकार महासन्धि, महिलाविरुद्ध सबैप्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि र मिनामाता मर्करी महासन्धिहरुले अन्तर्राष्ट्रिय रुपमा अनुसरण गरेकोे उद्देश्य पूरा गर्न पनि सहयोग पुग्ने जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए । ‘‘ठूलो परिणामा प्रयोग हुने कस्मेटिकका सामग्रीसम्बन्धी मापदण्ड नहुँदा जनस्वास्थ्य र खासगरी बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिलाको स्वास्थ्यमा अनेक समस्या आइरहेको अवस्थामा सरकारले मापदण्ड ल्याएर राम्रो काम गरेको छ’’, उनले भने । कस्मेटिकसम्बन्धी मापदण्डअनुसार आवश्यक ऐन र नियमावली बनाउन पनि उनले माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here