अस्ट्रेलिया । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत छनोट चरणको तेस्रो अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेल नेपालले क्यानबेरास्थित रंगशालामा खेल्दैछ ।
अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली अक्टोबर २ मा नै त्यसतर्फ जाने तयारी गरिरहेको छ । १ साता अगाडि अस्ट्रेलिया उड्न लागेको नेपाली टोलीले सिड्नीमा अभ्यास गर्ने भएको छ । अष्ट्रेलियन राष्ट्रिय टोली विरुद्ध हुने विश्वकप छनोट प्रतियोगितामा अघि नेपाली राष्ट्रिय टोलीले क्याम्बेलटाउन स्पोट्स स्टेडियममा अभ्यास गर्ने भएको छ ।अभ्यासको व्यवस्था अष्ट्रेलियन नेपलिज फुटबल एसोसिएसन (एन्फा) र गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले गरेको हो ।
सोमबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर अष्ट्रेलियन नेपलिज फुटबल एसोसिएसन (एन्फा) र गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले जानकारी दिइएको छ । आयोजकका अनुसार राष्ट्रिय टिमका लागि दक्षिण पश्चिम सिड्नीको क्याम्बेलटाउन स्पोट्स स्टेडियम बुक गरिएको छ । नेपाली टिमलाई स्थानीय हावापानीसँग घुलमिल हुने माहोल बनाउन र अवे खेलका लागि टोलीको मनोवल उच्च बनाउनका लागि सिड्नीमा अभ्यासको व्यवस्था गरिएको एन्फा अस्ट्रेलियाका अध्यक्ष बिजेन बटाजुले जानकारी दिए ।
बटाजुका अनुसार टोलीको स्वागतमा सिड्नीमा रात्री भोजको आयोजना गरिने भएको छ । नेपाली टोलीको एकसाताको बसाईका क्रममा लाग्ने करिब ५० हजार अष्ट्रेलियन डलर खर्चको अधिकांश रकम एनआरएनको युवा फोरमको अगुवाईमा उठिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । राष्ट्रिय टिमको समर्थनका लागि अष्ट्रेलियाका मुख्यशहरहरु सिड्नी, मेलवर्न, ब्रिजबेन र क्यानबेरा लगायतबाट ठूलो संख्यामा नेपालीहरु क्याबेराको जिआईओ रंगशालामा उपस्थित हुने तयारी रहेको एन्फाले जानकारी दिएको छ ।
नेपालले छनोट अन्तरगत यसअघि दुई खेल खेलिसकेको छ । दुई मध्ये एकमा जीत र एकमा हार व्यहोरेको नेपालले तीन अंक जोडेको छ । नेपालले अब जोर्डन र अस्ट्रेलिसँग खेल्न बाँकी छ । नेपाली टोली अस्ट्रेलियासँगको खेलपछि जोर्डन जाने छ ।





