काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट राजकीय जिम्मेवारीमा जान इच्छुक नेता तथा कार्यकर्तालाई सक्षम बनाउने गरी नेतृत्व विकास कार्यक्रम ल्याउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिनुभएको छ ।
प्रतिष्ठानको पहिलो बैठकलाई बुधवार पार्टी केन्द्रिय कार्यालय सानेमा सम्बोधन गर्दै सभापति थापाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले पार्टीले प्रश्ताव गरेको ‘लिडरसिप एकेडेमी’लाई प्रतिष्ठानमार्फत सञ्चालन सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले पार्टीभित्र प्रशिक्षण प्रणालीलाई आधुनिक प्रविधिमार्फत सुदृढ बनाउँदै सदस्यलाई वैचारिक रूपमा सशक्त बनाउनेगरी काम गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले मुलुकमा विकसित महंगी लगायतका विषयमा सरकारको विरोध गर्ने मात्र नभई समस्याको समाधानका के गर्न सकिन्छ भन्नेबारे प्रतिष्ठानले काम गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले पार्टीमा ठूलो संख्यामा नयाँ सदस्य आबद्ध भइरहेको उल्लेख गर्दै उनले ती सदस्यलाई पार्टीको इतिहास, विचार र सिद्धान्तबारे व्यवस्थित प्रशिक्षण दिने कुरा प्राथमिकतामा राख्न समेत प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।
उहाँले पार्टी प्रशिक्षण कार्यक्रमलाई डिजिटल माध्यममा रूपान्तरण गर्नेगरी पार्टी अगाडि बढिरहेको समेत बताउनु भयो । उहाँले सुशासन पार्टीको प्रमुख एजेन्डा भएको भन्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताउनु भयो ।
उहाँले अगामी २०८४ मा हुने स्थानीय तह निर्वाचनका लागि समेत सँगसँगै गृहकार्यमा जुट्न समेत पार्टी पंक्तिलाई आग्रह गर्नुभयो ।






