काठमाडौँ । शेयर बजारमा उतारचढाव आइरहेका बेला अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनिधिहरुबीच भेटघाट भएको छ ।
सोमवार सिंहदरबारमा अर्थमन्त्रीलाई भेट्न स्टक ब्रोकर एशोसिएशनका पदाधिकारीहरु पुग्नुभएको थियो । भेटमा उहाँहरु पुँजीबजार सुधारका लागि सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
एशोसिएशनका प्रतिनिधिहरूले विभिन्न समयमा गठित पुँजीबजार सुधार कार्यदलले दिएका तर अझै कार्यान्वयन हुन बाँकी रहेका सुझावहरूलाई तत्काल लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था मिलाउनुपर्ने, शेयर खरिद गरेपछि हाल कायम रहेको ६ महिनासम्म विक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने, गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने सुझाव अर्थमन्त्री वाग्लेलाई दिनुभयो ।
हाल शेयर हस्तान्तरण हुन नसक्दा सिधै क्लोज आउटमा गएर लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न र बजारलाई थप सुरक्षित बनाउन ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने, वि.सं. २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको सेटलमेन्ट ग्यारेन्टी फण्ड (राफसाफ सुनिश्चितता कोष) लाई नियामक निकायमार्फत निर्देशन दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव पनि एशोसिएशनका प्रतिनिधिहरुले पेश गर्नुभयो ।
यसैगरी, बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम कर हुनेगरी स्पष्ट पार्नुपर्ने तथा सरकारी संस्थान र विभिन्न कोषहरूको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको मनोबल बढाउन अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
भेटमा पूर्वअध्यक्ष प्रियराज रेग्मी र महासचिव लगायतका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई सुझावहरू प्रश्तुत गर्नुभएको थियो । उहाँहरुले शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका व्यक्तिहरूले गलत हल्ला फैलाइरहेको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँहरुले साना लगानीकर्तालाई आत्तिएको बताउँदै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भएपनि गोप्य राख्न आग्रह गर्नुभएको थियो ।
अर्थमन्त्री उहाँहरुको कुरा सुनेपछि सरकार निजी क्षेत्रमैत्री रहेको, अपराध गरेकालाई उन्मुक्ति नहुने तर छानीछानी प्रतिशोध नहुने नीति रहेको स्पष्ट पार्नुभएको थियो । उहाँले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने बताउनु भयो ।
मन्त्री वाग्लेले शेयर बजारमा फैलाइएको अफवाहको पछि नलाग्न सबैलाई आग्रह गर्दै नेपालको अर्थतन्त्रका लागि राम्रो दिन आउन लागेको समेत बताउनु भयो । उक्त भेटलाई पुँजीबजारको वर्तमान चुनौती सम्बोधन गर्न तथा लगानीकर्ताको विश्वास जगाउने दिशामा महत्वपूर्ण मानिएको छ ।
स्टक ब्रोकर एसोसिएसनले आफूले दिएका सुझावहरूको तत्काल कार्यान्वयनका लागि निरन्तर पहल गर्ने समेत बताएको छ ।






