काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दलित पत्रकारहरुको क्षमता अभिवृद्धि, खोज पत्रकारिताका लागि प्रोत्साहन तथा उनीहरुको भौतिक तथा मानसिक सुरक्षा सुनिश्चित हुनेगरी विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त आवश्यक्ता औंल्याउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले समाचार सम्वद्ध निकायहरुलाई पनि दलित पत्रकारहरुको हकमा आन्तरिक रुपमा पनि समावेशी नीति कडाईका साथ पालना गराउन आग्रह गर्नुभयो ।
उहाँले दलितको सवाललाई कुनै एउटा समूदायको मात्रै सवाल मात्रै नभई सिंगो राष्ट्रको साझा सवाल र राष्ट्रिय मुद्दाको रुपमा मिडियाहरुले प्राथमिकताका साथ लिनु पर्ने समेत बताउनु भयो । राज्य, नागरिक समाज र मिडिया संचालकहरुले मिडियालाई लोकतान्त्रिक बनाउने होभने आन्तरिक रुपमा समावेशी नीति कडाईका साथ पालना गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई थियो ।
पूर्वराष्ट्रपति भण्डारीले कुनैपनि समाजको रुपान्तरणमा पत्रकारहरुको कमल शक्तिशाली हुने भएकाले उनीहरुले त्यसको दुरुपयोग हुने खालको कुनैपनि गतिविधि गर्न नहुने बताउनु भयो ।






