काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई लक्षित गरेर व्यवसायीहरुले प्याकेजहरु ल्याउनुपर्ने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गदैँ दुई दिने सरकारी बिदा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताउनु भयो । उहाँकाअनुसार विगतदेखि नै पर्यटन प्रवद्र्धनका लागि २ दिन बिदा दिन प्रश्ताव गरिएको थियो तर त्यो लागू हुन सकेको थिएन । हालको निर्णयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ ।
नेपालमा पर्यटन पूर्वाधार र हस्पिटालिटी उद्योगमा ठूलो लगानी भइसकेको अवस्थामा यो अतिरिक्त बिदाले ती क्षेत्रमा प्रत्यक्ष सहयोग पु¥याउनेछ । आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षित हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना पनि बढ्नेछ, जसले दीर्घकालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन आधार तयार गर्ने उहाँको भनाइ छ ।
जोशीकाअनुसार अहिलेको शिक्षित तथा बौद्धिक वर्गले समय पाएमा आफ्ना अनुभव र यात्रा आइडिया अरूसँग साझा गर्न सक्नेछन्, जसले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पु¥याउनेछ ।
साथै, कर्मचारीले परिवारलाई समय दिन नपाउने र सामान्य घरेलु कामसमेत गर्न नसक्दा कार्यक्षमतामा असर पर्ने अवस्था अब सुधार हुने अपेक्षा गरिएको छ । कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउने उहाँको भनाइ छ ।
प्रमुख कार्यकारी अधिकृत जोशीले नेपालमा निर्णय र कार्यान्वयन प्रक्रियाको कमजोरीबारे पनि टिप्पणी गर्दै यसपटक नयाँ सरकारले मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित गरी लागू गरेको प्रक्रियालाई उदाहरणीय भएको बताउनु भयो । यसले अन्य संस्थाहरूलाई पनि छिटो र प्रभावकारी कार्यान्वयनतर्फ प्रेरित गर्नेछ ।






