काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री साहको नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो । उहाँले भारतको सीमा मिचेको दाबीको आधार संसदमा पेश गर्न प्रधानमन्त्रीसंग माग गर्नुभयो ।
प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उहाँको भनाई छ । उहाँले सामान्य नागरिकले व्यक्त गर्ने धारणा र प्रधानमन्त्रीले संसदमा राख्ने भनाइको प्रभाव फरक हुने उल्लेख गर्दै प्रधानमन्त्रीका अभिव्यक्तिलाई देशको आधिकारिक दृष्टिकोणका रूपमा लिइने भएकाले तथ्य बिनाका दाबी स्वीकार्य नहुने धारणा राख्नुभयो ।
उहाँले सरकारसँग नेपालतर्फको भूमि भारतले मिचेको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण वा तथ्याङ्क भए संसदमा पेश गर्न आग्रह गर्नुभयो । प्रमाण नभए जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले तथ्याङ्कविहीन अभिव्यक्ति राजनीतिक भाषण हुन सक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने टिप्पणी गर्नुभयो । राष्ट्र अनुमानले नभई तथ्यका आधारमा चल्ने उहाँको भनाई छ । उहाँका अनुसार भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्रै विश्वास जित्न सक्छ । शाहीले प्रधानमन्त्रीले संसदमा बोलेका शब्दहरू प्रमाणसहित पुष्टि गर्नुपर्ने वा अन्यथा संसदको अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य राजनीतिक टिप्पणी नभई देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा उठाएको विषय भएकाले त्यसको पुष्टि आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले सभामुखसँग प्रधानमन्त्रीको तथ्यहीन अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।






