फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


१२ फाल्गुन २०८२, मंगलवार १६:०९ मा प्रकाशित

काठमाडौं । सरकारले यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ । 


मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी निर्वाचनका लागि चीन सरकारले अनुदान सहायताको रुपमा लिन लागेको ४ मिलियन अमेरिकी डलर करिव ५४ करोड नेपाली रुपँयाँ स्वीकार गर्ने निर्णय पनि गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने, विमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय पनि सरकारले गरेको छ ।

बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्विकृत पनि गरिएको छ । मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम सो आयोजनाको वित्तीय लगानीको ढाँचा स्वीकृत गरेको पनि मन्त्री अर्यालले स्पष्ट पार्नु भयो । 

सरकारले आगामी वर्षभरी हुने सार्वजनिक विदा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here