काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गर्नुभएको छ ।
शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरी उहाँहरुले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरुलाई आग्रह गर्नुभएको हो । उहाँहरुले देश हाल सबैभन्दा गम्भिर अवस्थामा पुगेकोले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोच विचार गर्न पनि अपिल गर्नुभएको छ ।
अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उहाँहरुले आह्वान गर्नुभयो । वागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गर्नुभएका दिनेश हुमागाईंले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गर्नुभयो ।
उहाँले चुपचाप नभइ धेरै अध्ययन गरेर मत हाल्न आग्रह गर्नुभयो । उहाँले देशले निकास पाउने र स्थायी सरकार बन्नेगरी मत दिनुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको आरोप लगाउनु भयो ।
समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेद्वार चयन प्रक्रिया सही नभएको, नेतृत्वमा जवाफदेहीता नभएको कारण आफूले पार्टी छाडेको उहाँको भनाई छ । उहाँले नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोदनमाथी नै धोकाधडी हुन लागेको आरोप लगाउनु भयो ।
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाउनु भयो । उहाँले थितिको थालनी र वेथितिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी हाल उल्टो बाटोतिर हिँडेको दाबी गर्नुभयो ।
उहाँले उम्मेद्वारी चयन प्रक्रिया संगठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिएपनि त्यसो हुन नसकेको बताउनु भयो । पार्टी सदस्यहरूलाई स्क्याम गरिएको दाबी गर्दै उहाँले आन्तरिक लोकतन्त्रमा विश्वासघात भएको आरोप लगाउनु भयो । यस विषयमा आफूले पटक पटक आवाज उठाएपनि सुनुवाई हुन नसकेकोले पार्टी छाड्न बाध्य भएको उहाँको भनाई छ ।






