निर्वाचन तयारी तीव्र, मतपत्र ढुवानी अन्तिम चरणमा


९ फाल्गुन २०८२, शनिबार १०:२८ मा प्रकाशित


काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १२ दिन मात्र बाँकी रहँदा देशभर निर्वाचन तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले अधिकांश प्रदेशमा मतपत्र तथा आवश्यक निर्वाचन सामग्री पठाइसकेको र बाँकी स्थानमा अन्तिम चरणको ढुवानी भइरहेको जनाएकाे छ।

आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका निर्वाचन क्षेत्रमा मतपत्र पुगिसकेको छ। बागमतीसहित अन्य प्रदेशमा भने ढुवानी कार्य नियमित रूपमा जारी रहेको छ। राजधानीभित्रका मतदान केन्द्रमा समेत केही दिनभित्र मतपत्र पुर्याइने तयारी गरिएको आयोगले जनाएको छ।

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा बढी मतपत्र छपाइ गरी प्याकिङसहित पठाइसकिएको आयोगले जनाएको छ । समानुपातिकतर्फ पनि दुई करोडभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

मतपत्र बाहेक आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीमध्ये अधिकांश ढुवानी पूरा भइसकेको छ, जसले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाएको आयोगको दाबी छ ।

मतपत्र छपाइ भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आयोगको क्यालेण्डरअनुसार चरणबद्ध रूपमा गरिएको थियो । पुस महिनादेखि सुरु भएको छपाइ प्रक्रियाअन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि झन्डै ११ लाख नमूना मतपत्र समेत तयार गरिएको थियो ।

निर्वाचन नजिकिँदै जाँदा आयोगले सुरक्षा, सामग्री व्यवस्थापन तथा मतदान केन्द्र तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here