काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गराउन आयोगले कुनै कसर बाँकि नराख्ने बताउनु भएको छ ।
शुक्रवार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गर्नुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरुलाई आग्रह गर्नुभयो । निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही हुने चेतावनी समेत दिनुभयो ।






