झापा , ज्ञानु भट्टराई । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित श्री श्री गडिगाउँ माध्यमिक विद्यालयको ६७ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
पुस १६ गतेदेखि सुरु भएको वार्षिक उत्सव विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक खेलकुद गतिविधि आयोजना गर्दै बिहिबार औपचारिक रूपमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले विद्यालयले विगतका वर्षहरूको तुलनामा उल्लेखनीय प्रगति गर्दै आएको बताउनुभयो। स्थानिय सरकार प्रदेश सरकारको सहयोगमा यश विद्यालयको स्तरउन्नतिमा निकै राम्रा काम हरू भईरहेको बताउनु भयो।

त्यस्तै पालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने पर्याप्त आधारहरू भएकाले स्थानीय तह मात्र नभई अभिभावक, शिक्षाप्रेमी र विद्यालयबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग पन्धाक सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयले पुर्व विद्यार्थी डा। भागतवत अधिकारीलाई सम्मान गरेको छ।
त्यस्तै वर्षोत्कृष्ट शिक्षक सम्मानबाट देवि राज खालिङलाई सम्मान गरेको थियो भने, विषय गत वर्षोत्कृष्ट शिक्षक सम्मान बाट सामाजिक विषयमा दुर्गा नाथ ढकाल, त्यस्तै विज्ञान विषयमा दुर्गा प्रसाद शर्मा , लेखा विषयमा मेघराज भट्टराई सम्मानित हुनुभएको थियो । त्यसैगरि आधारभुत तह उत्कृष्ट शिक्षक सम्मानबाट मिना गरिलाई सम्मान गरिएको थियो ।

त्यसै गरि वर्षोत्कृष्ट अभिभावकमा सेखर पौडेललाई सम्मान गरिएको थियो। त्यसैगरी विद्यालयले विभिन्न २३ वटा अध्यक्षकोषबाट ९५ जना कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई कार्यक्रमका सभा अध्यक्ष प्रमुख अतिथि तथा अन्य अतिथिहरूबाट पुरस्कार वितरण गरिएको थियो।

विद्यालयले सोही कार्यक्रमको अवसर पारेर विद्यालयका प्रधानाध्यापक घनश्याम आचार्यले औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने सम्मानित हुने पुर्व विद्यार्थी भागवत अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयले सोही कार्यम्रको अवसरमा विद्यालयमा विभिन्न व्यक्तित्व, पूर्व शिक्षक तथा पूर्व विद्यार्थीद्वारा थप ५ वटा अक्षयकोषको स्थापना गरेको छ ।
कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षकद्वय दुर्गानाथ ढकाल र शमिर न्यौपानेले गर्नुभएको थियो।







