ओलीलक्षित गृहमन्त्रीको टिप्पणीः ‘सार्वजानिक खपतको लागि निर्वाचन हुँदैन भन्नेलाई सरकारले कामबाट जवाफ दिन्छ’


१० मंसिर २०८२, मंगलवार १४:४८ मा प्रकाशित


काठमाडौं ।
 गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवद्र्धन गर्दै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी वर्तमान सरकारको रहेको बताउनुभएको छ । 


लुम्बिनी प्रदेशद्वारा मंगलवार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै उहाँले निर्वाचनलाई नै मूल मन्त्र बनाएर काम गरिरहेको बताउनु भयो । वर्तमान सरकार निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको उहाँको दाबी छ । उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै केही व्यक्तिहरु सार्वजानिक खपतको लागि विभिन्न बाहाना देखाएर निर्वाचन हुँदैन भनेर हिँडिरहेको बताउनु भयो ।

निर्वाचन हुँदैन भन्नेहरुलाई सरकारले कामले जवाफ दिने र दिइरहेको उहाँको भनाई छ । एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गर्नै नसक्ने बताउँदै आउनुभएको छ । गृहमन्त्री अर्यालले आफ्नो ईच्छाले आफूहरु सरकारमा नआएको पनि बताउनु भयो । देश शुन्यतामा पुगेको अवस्थामा पाएको जिम्मेवारीलाई पूरा गर्न आफूहरुको केन्द्रित रहेको उहाँको भनाई छ ।

उहाँले शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातारण सिर्जना गर्न प्रदेश सरकारको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । संघिय सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रिय सुरक्षा संयन्त्रबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उहाँको भनाई छ ।

उहाँले निर्वाचनको लागि राजनितिक दलहरुले फरार कैदीबन्दी र लुटिएका हतियारलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औल्याएको उल्लेख गर्नुहुँदै विशेष अपरेशनमार्फत हतियार फिर्ता ल्याईसकेको दाबी गर्नुभयो । ठूलो संख्यामा कैदीहरु पनि फिर्ता भईसकेको उहाँको भनाई छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here