प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर


१० मंसिर २०८२, मंगलवार १४:०४ मा प्रकाशित


काठमाडौं ।  नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । 


सोमबार तत्कालीन प्रतिनिधि सभा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर गर्नु भएको हो ।

रिटमा प्रधानमन्त्री सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री भएको जिकीर गर्दै सो नियुक्ति बदर गरी संसदमार्फत नै सरकार निर्माण प्रक्रियालाई अघि बढाउन पनि माग गरिएको तत्कालीन एमाले संसदीय दलका प्रमुख सचेतक बर्तौलाले जानकारी दिनु भयो ।

उहाँले न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो पार्टीले दायर गरेको सो रिटमाथि तत्काल मिति तय गरी सुनुवाई प्रक्रिया अघि बढाउन पनि जोड दिइएको बताउनु भयो ।


विघटित प्रतिनिधि सभा एमाले संसदीय दलको बैठक यसअघि नै प्रतिनिधि सभा पुनःस्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने जिम्मेवारी तत्कालीन प्रमुख सचेतक बर्तौला र सचेतक बराललाई दिएको थियो ।

सोहीअनुसार आज प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरिएको हो । एमालेले आजै प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पनि दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here