काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।
उखु उत्पादक महासंघ नेपालको अगुवाईमा काठमाडौंको माईतीघरमा भइरहेको उखु किसानको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न आग्रह गर्नुभयो ।
किसानले उखुमा पाउँदै आएको प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदानलाई निन्तरता दिने घोषणा गरेर तत्काल भुक्तानीको व्यवस्था मिलाउन पनि सरकारसंग माग गर्नुभयो । उहाँले उखुको न्युनतम मुल्य पनि वृद्धि गर्नपर्ने आवश्यकता रहेको औँल्याउँदै त्यतातिर पनि ध्यान दिन सरकारको विशेष ध्यानाकर्षण गराउनु भयो ।
उहाँले उखु किसानले कहिले उचित मूल्य र भुक्तानीको लागि कारखाना मालिकहरुसँग संघर्ष गर्नुपर्ने, कहिले पाइरहेको अनुदानको लागी सरकारसँग संघर्ष गर्नुपर्ने स्थिति सिर्जना हुनु पीडादायी भएको बताउनु भयो । उखु किसानको आन्दोलनमा नेकपा माओवादी केन्द्र सधँै किसानको पक्षमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
मधेस प्रदेशसहित देशभरका उखु किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।






