२०८४ मा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जान्छः डा बाबुराम भट्टराई


१० भाद्र २०८२, मंगलवार १२:४८ मा प्रकाशित



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ सम्ममा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा जाने बताउनुभएको छ ।


न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले पुराना दलहरुले आफूलाई समय अनुकुल परिवर्तन गर्न नसकेका कारण देश र जनताले नयाँ वैकल्पिक शक्ति खोजेको बताउनु भयो ।

आफूले शुरु गरेको वैकल्पिक शक्तिको अभियानले विभिन्न रुपमा विस्तारै आकार लिँदै गएको उहाँको भनाई छ । बहुदलिय प्रणालीमा एउटा मात्रै वैकल्पिक र नयाँ दल भन्ने नहुने उल्लेख गर्नुहुँदै उहाँले नेपालमा विभिन्न नाममा वैकल्पिक शक्तिहरुको उदय भइरहेको बताउनु भयो ।

नयाँ र वैकल्पिक शक्तिहरुबीचको सहकार्य र मोर्चाबन्दीबाट २०८४ सम्म देशलाई विकल्प दिने उहाँको दाबी छ । न्युनतम आधार गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र भएका दलहरुको बीच वृहत मोर्चाबन्दी हुने उहाँले बताउनु भयो ।

यद्यपि नयाँ दलहरुबीच पार्टी एकता भने नहुने उहाँको भनाई छ । वैकल्पिक शक्तिहरुको मोर्चाबन्दीका लागि आफूले अभिभावकीय भुमिका निर्वाह गर्ने पनि उहाँले बताउनु भयो । 

उहाँले वैकल्पिक शक्तिहरु अग्रगामी हुने पनि बताउनु भयो । राजावादीहरुप्रति इगिंत गर्दै उहाँले केही शक्तिहरु नबुझेर गणतन्त्र, संघीयता, धर्मनिरपक्षता र समावेशी लोकतन्त्रको विरोधमा उत्रिएको उल्लेख गर्नुभयो ।

लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र, गणतन्त्रको विकल्प भनेको अझै सुन्दर गणतन्त्र र संघियताको विकल्प भनेको अझै व्यवस्थित संघियता हुने उहाँको भनाई छ । गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र यी नेपालका संविधानका आधारभुत स्तम्भ भएकोले यसलाई कसैले पनि कुनै बहानामा भत्काउन नसक्ने उहाँले बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here