काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेन्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ ।
राष्ट्र बैंकको धनगढी कार्यालयले भीमदत्तनगर–४, महेन्द्रनगरस्थित उक्त कम्पनीको मनिचेन्जरसम्बन्धी इजाजतपत्र खारेज गरेको हो । कम्पनीले आफ्नो कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएपछि केन्द्रीय बैंकले खारेजीको निर्णय गरेको हो ।
राष्ट्र बैंकका अनुसार राष्ट्रिय मनिचेन्जर भारतीय मुद्रा खरिद–बिक्रीको कारोबार गर्न इजाजतप्राप्त संस्था थियो । कम्पनीले कारोबार बन्द गर्ने निर्णयसहित निवेदन दिएपछि मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७९ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम इजाजतपत्र खारेज गरिएको हो ।
राष्ट्र बैंकको धनगढी कार्यालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार इजाजतपत्र खारेज गरेको जनाएको छ । यससम्बन्धी सूचना राष्ट्र बैंकले मंसिर १९ गते सार्वजनिक गरेको छ ।
विनियमावलीको विनियम २२ मा मनिचेन्जरले कुनै कारणवश कारोबार बन्द गरी इजाजतपत्र खारेज गराउन चाहेमा सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ । त्यस्तो अवस्थामा राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरी आवश्यक प्रक्रिया पूरा गरेपछि इजाजतपत्र खारेज गर्न सक्ने व्यवस्था छ ।
यससँगै महेन्द्रनगरमा रहेको राष्ट्रिय मनिचेन्जर प्रालिको नाममा विदेशी मुद्रा खरिद–बिक्री गर्ने इजाजतपत्र खारेज भएको छ ।