Wednesday, 25 November 2026
Suryodaya Online
९ मंसिर २०८३, बुधबार
विज्ञापन

औषधिमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर मापदण्ड अनिवार्य

Suryodaya Online TV

काठमाडौँ, ८ मंसिर । औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (९५ प्रतिशत इथानोल) को गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागले औषधि उद्योग तथा सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

औषधि उद्योगमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको रेक्टिफाइड स्पिरिटले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको उत्पादन, प्रशोधन र गुणस्तरमा एकरूपता कायम गर्न विभागले यस्तो निर्देशन दिएको हो ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुँदै आएको रेक्टिफाइड स्पिरिट औषधि उत्पादनमा प्रयोग गरिँदै आएको छ ।

तर, उक्त पदार्थको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्न आवश्यक रहेको विभागले जनाएको छ ।

औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट भारतीय फार्माकोपिया, ब्रिटिस फार्माकोपिया तथा संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायत मान्यताप्राप्त फार्माकोपियामा तोकिएका गुणस्तर मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले निर्धारित मापदण्ड पूरा गरेको रेक्टिफाइड स्पिरिट मात्र औषधि उत्पादनमा प्रयोग गर्ने व्यवस्था मिलाउन उद्योग तथा सरोकारवालालाई सोमबार सूचना जारी गरेको हो । यो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ ।

यसैबीच, विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजार उपलब्धताबारे पनि जानकारी सार्वजनिक गरेको छ ।

सिस्प्लाटिन, कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसनलगायतका औषधि बजारमा अभाव भएको वा न्यून मात्रामा उपलब्ध रहेको जानकारी आएपछि विभागले ती औषधि सहज रूपमा उपलब्ध गराउने फर्म तथा वितरकको विवरण सार्वजनिक गरेको हो ।

जीवनरक्षक औषधिको निरन्तर आपूर्ति सुनिश्चित गर्दै बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राख्न र बजारमा नियमित उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ ।

त्यस्तै, दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पीएचपी अपग्रेड) गर्न नसक्दा अवरुद्ध भएको विभागको अनलाइन सेवा मंगलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

विभागले अनलाइनमार्फत प्रदान गर्दै आएका औषधि दर्तालगायतका सेवा पनि मंगलबारदेखि नियमित हुने जानकारी सोमबार जारी सूचनामार्फत दिएको छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private