Wednesday, 25 November 2026
Suryodaya Online
९ मंसिर २०८३, बुधबार
विज्ञापन

सरकारी कार्यक्रममा प्लाष्टिक प्रयोग नगर्न कोशी सरकारलाई उच्च अदालतको परमादेश

Suryodaya Online TV

विराटनगर । सरकारी कार्यक्रम तथा सभा–सम्मेलनमा प्लाष्टिकजन्य सामग्रीको प्रयोग निरुत्साहित गर्न उच्च अदालत विराटनगरले कोशी प्रदेश सरकारका नाममा परमादेश जारी गरेको छ।

अदालतको इजलास नं. ४ ले मंसिर ४ गते अन्तिम आदेश जारी गर्दै सरकारी निकायबाट आयोजना हुने सभा, सम्मेलन, सेमिनार तथा गोष्ठीमा प्लाष्टिकजन्य सामग्रीको सट्टा उपलब्ध वातावरणमैत्री विकल्प प्रयोग गर्न आदेश दिएको हो।

प्लाष्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि आवश्यक ऐन, नियम, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन पर्याप्त नभएको भए त्यसलाई उच्च प्राथमिकताका साथ अघि बढाउन पनि अदालतले प्रदेश सरकारलाई निर्देशन दिएको छ।

विराटनगर महानगरपालिका–४ का अधिवक्ता प्रमिल अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री, प्रमुख सचिव र पर्यटन, वन तथा वातावरण मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषणयुक्त परमादेशको रिटमा अदालतले यस्तो आदेश दिएको हो।

अदालतले निवेदकले उठाएका विषय मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित रहेको ठहर गरेको छ। प्रदेश सरकारले पेस गरेको लिखित जवाफमा समेत प्लाष्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि ऐन, नियमावली, नीति तथा कार्यक्रम तर्जुमा गर्ने दिशामा अघि बढिरहेको उल्लेख थियो।

संविधान, वातावरण संरक्षणसम्बन्धी संघीय तथा प्रदेश कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताले समेत मानव स्वास्थ्यमा असर गर्ने प्लाष्टिकजन्य वस्तुको प्रयोग न्यूनीकरण गर्न जोड दिएको भन्दै अदालतले परमादेश जारी गर्नुपर्ने ठहर गरेको हो।

अधिवक्ता अधिकारीले २०८२ जेठ २६ गते सरकारी कामकाजमा वातावरण प्रदूषण गर्ने फ्लेक्स ब्यानर, प्रचार सामग्री तथा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गरी वातावरणमैत्री सामग्री प्रयोग गर्न माग गर्दै रिट दायर गरेका थिए।

कोशी प्रदेश मन्त्रिपरिषद्ले २०८१ चैत २९ गते ‘कोशी पर्यटन वर्ष २०८२’ को प्रचारप्रसार सामग्रीमा लोगो, नारा र मस्कट राख्न पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो। त्यसपछि मन्त्रालयले आयोजना गरेका कार्यक्रमहरूमा फ्लेक्स ब्यानर र प्लाष्टिकका बोतल प्रयोग भएको पाइएको थियो।

यस विषयमा सूचना माग गर्दा पर्यटन वर्षका कार्यक्रम मात्र नभई अन्य सरकारी कार्यक्रममा समेत फ्लेक्स ब्यानर र प्लाष्टिकका बोतल प्रयोग हुँदै आएको जानकारी पाएपछि अधिकारी अदालत पुगेका थिए।

उनले प्रदेश सरकार र मातहतका निकायबाट सञ्चालन हुने कार्यक्रममा फ्लेक्स ब्यानर, प्लाष्टिकका बोतल, प्लाष्टिकका फूल तथा प्लाष्टिक र आल्मुनियमको प्याकेजिङ प्रयोगमा रोक लगाउन माग गरेका थिए।

रिटमा पोलिभिनाइल क्लोराइड (पीभीसी) र पोलिएस्टर फ्याब्रिकबाट बनेका फ्लेक्स ब्यानरले वातावरणमा दीर्घकालीन असर पार्ने उल्लेख गरिएको थियो। यस्ता ब्यानर नष्ट हुन करिब ४५० वर्ष लाग्ने विभिन्न अध्ययनले देखाएको दाबी पनि निवेदनमा गरिएको थियो।

त्यस्तै, प्लाष्टिकजन्य पदार्थबाट निस्कने बिस्फेनोल ए (बीपीए), थ्यालेट्स र डायोक्सिनजस्ता रसायनले हर्मोन असन्तुलन, प्रजनन क्षमतामा कमी, क्यान्सर, दम तथा छालासम्बन्धी रोगको जोखिम बढाउनुका साथै बालबालिकाको मानसिक विकासमा असर पार्न सक्ने जिकिर निवेदकले गरेका थिए।

प्लाष्टिकको प्रयोगले माटोको उत्पादकत्व घटाउने, पानीका मुहान प्रदूषित गर्ने र जलवायु तथा वातावरणीय जोखिम बढाउने विषय पनि रिटमा उठाइएको थियो।

निवेदकले संविधानको धारा ३० मा व्यवस्था गरिएको स्वच्छ वातावरणको हक, धारा ३५ को स्वास्थ्यसम्बन्धी हक र धारा ४४ को उपभोक्ताको हक कार्यान्वयनको माग गर्दै अदालतको विशेष अधिकार क्षेत्र प्रयोग गर्न आग्रह गरेका थिए।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private