काठमाडौं । युरोपमा रोजगारीको सपना बोकेर लाखौं रुपैयाँ खर्च गरी रोमानिया पुगेका ६ सयभन्दा बढी नेपाली श्रमिक रोजगारी र आवाससम्बन्धी विवादमा परेका छन् । नेपालबाट जाँदा गरिएको सम्झौताअनुसार पारिश्रमिक नपाएको र निःशुल्क भनिएको आवास सुविधाबापत रकम कटौती गर्न खोजिएपछि उनीहरूको रोजगारीसमेत अनिश्चित बनेको छ ।
रोमानियास्थित बिसार लजिस्टिक एसआरएलमार्फत विभिन्न कम्पनीमा काम गरिरहेका नेपाली श्रमिकले आफूहरूमाथि अन्याय भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूका अनुसार नेपालस्थित टाइम म्यानेजमेन्ट सिस्टम प्रालिमार्फत रोजगारीका लागि रोमानिया पुगेका प्रत्येक श्रमिकले १० लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।
नेपालबाट प्रस्थान गर्नुअघि गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु उल्लेख छ । तर, रोमानिया पुगेपछि रोजगारदाता कम्पनीले २ हजार ४ सय ५५ ल्यु मात्रै दिने बताएपछि विवाद सुरु भएको श्रमिकको भनाइ छ ।
सम्झौतामा उल्लेखित पारिश्रमिकभन्दा मासिक २ सय ४४ ल्यु कम दिन खोजिएको उनीहरूको आरोप छ । यसबाहेक निःशुल्क आवास सुविधा दिने प्रतिबद्धता गरिएको भए पनि कम्पनीले होस्टेल खर्चबापत मासिक ३ सय ल्यु कटौती गर्न खोजेको श्रमिकले बताएका छन् ।
तलब र आवास सुविधाको विषयमा पटक–पटक छलफल गर्दा पनि समाधान नभएपछि श्रमिकले काम बन्द गर्ने अवस्था आएको बताएका छन् । काममा उपस्थित नभए होस्टेल छाड्नुपर्ने आशयको सन्देशसमेत कम्पनीबाट आएको उनीहरूको दाबी छ ।
समस्यामा परेका श्रमिकले नेपाल सरकारका सम्बन्धित निकायसँग तत्काल हस्तक्षेप गर्न माग गरेका छन् । उनीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग कूटनीतिक पहल गरी आफ्नो रोजगारी र आवासको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।
यसैबीच सरकारले श्रमिकको गुनासो सम्बोधन गर्न कूटनीतिक तथा प्रशासनिक पहल थालेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले जर्मनीस्थित नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरेर समस्या समाधानको प्रक्रिया अघि बढाएको जनाएको छ ।
वैदेशिक रोजगार विभागले श्रमिकलाई रोमानिया पठाउने प्रक्रियामा संलग्न म्यानपावर कम्पनीको भूमिकाबारे अनुसन्धान थालेको छ । विभागका अनुसार व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा म्यानपावर कम्पनीले श्रमिकलाई विदेश पठाउन सहजीकरण गरी चर्को रकम असुलेको हुन सक्ने आशंका गरिएको छ ।
विभागले श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी गुनासो संकलन गर्नुका साथै सम्बन्धित म्यानपावर कम्पनीमा अनुगमन गरेको छ । प्रारम्भिक विवरणका आधारमा अनुसन्धान अधिकृतसमेत तोकिएको विभागले जनाएको छ ।
श्रमिक छनोट, भर्ना प्रक्रिया, सेवा शुल्क र रोजगार सम्झौताका सर्तमा अनियमितता भएको पाइए सम्बन्धित संस्था तथा व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने विभागको भनाइ छ ।
रोमानियास्थित गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेन्द्र गौतमले भने पछिल्लो समय रोमानियाको आर्थिक गतिविधि सुस्ताउँदा कामको उपलब्धता घटेको बताएका छन् । जाडो मौसम सुरु हुनु र कम्पनीको आर्थिक गतिविधिमा आएको मन्दीका कारण कामदारको ड्युटी समय घटेको उनको भनाइ छ ।
गौतमका अनुसार बिसार लजिस्टिकमा नेपालीसहित ६ सयदेखि ७ सयसम्म कामदार कार्यरत छन् । त्यसमध्ये करिब ४ सय नेपाली छन् । कम्पनीले पहिले निःशुल्क आवास सुविधा उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो समय आवास खर्च कटौती गर्न थालेपछि श्रमिकको हातमा आउने रकम घटेको उनले बताए ।
रोमानियामा नेपाली श्रमिकको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । गौतमका अनुसार त्यहाँ ७५ देखि ८० हजार नेपाली रहेको अनुमान छ । तर सरकारी अभिलेखमा ५० देखि ५५ हजारको हाराहारीमा मात्रै नेपालीको विवरण रहेको छ ।
विदेशमा रोजगारीका लागि जाने नेपालीले ऋण लिएर लाखौं रुपैयाँ खर्च गरे पनि गन्तव्य मुलुक पुगेपछि सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या दोहोरिँदै आएको छ । रोमानियाको पछिल्लो घटनाले वैदेशिक रोजगारीमा जानुअघि गरिने सम्झौता, म्यानपावर कम्पनीको प्रतिबद्धता र रोजगारदाताले उपलब्ध गराउने वास्तविक सुविधाबीचको अन्तरमाथि प्रश्न उठाएको छ ।