विराटनगर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबार (मंसिर ९) महासंघ मोरङ शाखाले जिल्ला प्रशासन कार्यालय मोरङअगाडि विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा महासंघका केन्द्रीय सदस्य कमल रिमालले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत सर्त भएको भन्दै पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने र सञ्चारमाध्यमलाई दबाबमा राख्ने गतिविधि स्वीकार्य नहुने बताए ।
पत्रकारले नागरिकका आवाज र सार्वजनिक सरोकारका विषय उठाउँदा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर चुनौती भएको उनको भनाइ थियो । उनले पत्रकारमाथिको धरपकड रोक्न र महासंघले अघि सारेका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने, कार्यालयभित्रै प्रवेश गरेर समाचारको स्रोत खोज्ने तथा पत्रकारमाथि साइबर मुद्दा लगाएर त्रसित बनाउने काम भइरहेको आरोप लगाए ।
उनले यस्ता गतिविधिले स्वतन्त्र पत्रकारितामाथि अवरोध सिर्जना गरेको भन्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।
त्यस्तै, नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले पत्रकारलाई पक्राउ गर्नुको कारणसमेत सार्वजनिक नगर्ने र पत्रकारमाथि धरपकड गर्ने सरकारी गतिविधिले प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको बताइन् ।
सरकारको यस्तो व्यवहारविरुद्ध दबाब सिर्जना गर्न आन्दोलन गर्नुपरेको उल्लेख गर्दै उनले महासंघले अघि सारेका माग तत्काल सम्बोधन गर्न आग्रह गरिन् ।
प्रदर्शनमा महासंघका प्रदेश तथा जिल्ला तहका पदाधिकारी, केन्द्रीय सदस्य र मोरङका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता थियो । उनीहरूले पत्रकारलाई निर्बाध रूपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाउन, पत्रकारमाथिको धरपकड रोक्न तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न माग गरेका छन् ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब दिँदै आन्दोलनका कार्यक्रम जारी राखेको जनाएको छ ।