झापाको बिर्तामोडमा अनलाइन ठगीको धन्दा सञ्चालन भइरहेको आरोपमा प्रहरीले छापा मारेर ३० जनालाई नियन्त्रणमा लिएको घटनामा थप विवरण सार्वजनिक भएको छ।
बिर्तामोड–५ शनिश्चरे रोडस्थित इन्फर्माटेक्स टेक प्रालिले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको फोटो प्रयोग गरी नक्कली अकाउन्ट बनाउने, विदेशमा रहेको भान पार्ने र विशेषगरी पुरुषलाई लक्षित गरी महिला कर्मचारीमार्फत म्यासेज पठाएर रकम माग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रिवाज भेटवालले आफ्नै घरको तेस्रो र चौथो तलामा उक्त कम्पनीको कार्यालय सञ्चालन गर्दै आएको खुलेको छ। त्यहाँ कार्यरत कर्मचारीले सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिहरूसँग सम्पर्क बढाउने, कामको प्रस्ताव गर्ने तथा काम गरिदिने भन्दै विभिन्न बहानामा पैसा माग्ने गरेको पाइएको बताइएको छ।
अनलाइनमार्फत ठगी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष पाठक र प्रहरी निरीक्षक हिमाल समशेर राईको कमाण्डमा खटिएको टोलीले कार्यालयमा छापा मारेको थियो।
छापा मार्ने क्रममा २५ जना महिला कर्मचारी र सञ्चालक भेटवालसहित पाँच जना पुरुष गरी ३० जनालाई ल्यापटप तथा मोबाइलमा काम गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
प्रहरीले घटनास्थलबाट २५ थान ल्यापटप, २८ थान व्यक्तिगत मोबाइल, ८८ थान कार्यालयका फोन सेट र १२ थान डायरी बरामद गरेको छ। नियन्त्रणमा लिइएका सबैलाई राति ९ बजे अभिभावक तथा आफन्तको जिम्मा लगाइएको र आज बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका ल्यापटप तथा मोबाइलबाट थप विवरण खुल्ने अपेक्षासहित प्रहरीले अनुसन्धान अघि बढाएको छ।
कम्पनीले सामाजिक सञ्जालमा आकर्षक रोजगारीको विज्ञापन गर्दै युवतीहरूलाई काममा लगाउने गरेको पाइएको छ। ‘रचनात्मक, उत्साही र समर्पित सामाजिक सञ्जाल ह्यान्डलर’ आवश्यक रहेको भन्दै सामाजिक सञ्जाल व्यवस्थापन, सामग्री निर्माण तथा डिजिटल संलग्नताका नाममा विज्ञापन गरेर युवतीहरूलाई आकर्षित गर्ने गरेको बताइएको छ।
यसरी रोजगारीको प्रलोभनमा पारेर युवतीहरूलाई भर्ना गरी सामाजिक सञ्जालमार्फत गैरकानुनी गतिविधिमा प्रयोग गरिएको आशंका गरिएको छ। कम्पनीमा अधिकांश महिला कर्मचारी कार्यरत रहेको र उनीहरूलाई विभिन्न व्यक्तिसँग अनलाइन सम्पर्क तथा संवादका लागि परिचालन गर्ने गरिएको प्रारम्भिक विवरणले देखाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।