वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा मनाइँदै


२६ श्रावण २०८२, आईतवार १०:०० मा प्रकाशित


काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ ।


नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ ।

काठमाडौंमा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक जनविश्वास रहेको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक कथन छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति रहेको पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here