काठमाडौं । मच्छिन्द्र क्लवले जारी एन्फा यु–१६ युथ लिगमा आठौं जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रवार न्युरोड टिम (एनआरटी) क्लवमाथि २–० को जित निकाल्दै मच्छिन्द्र लिगको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जन र सुदीप ठकुरीले गोल गरे ।
दुवै गोल दोस्रो हाफमा भएको हो । जितसँगै मच्छिन्द्रले १२ खेलबाट २६ अंक जोडेको छ । एनआरटी समान खेलबाट १२ अंकका साथ दशौं स्थानमा छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, हाफमा दुई गोल निस्कियो । खेलको ६१ औं मिनेटमा राहुलको गोलबाट मच्छिन्द्रले अग्रता लिएको थियो । फ्रिकिक प्रहारबाट आएको बललाई गोविन्द विकको सट पहिलो बारमा लागेर फर्किन पुग्यो ।
सोही बल नियन्त्रणमा लिएका राहुलले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै जाली चुमाएका हुन् । त्यसपछि गोलका लागि केही अवसर सिर्जना भए । मच्छिन्द्र साँघुरो जिततर्पm अग्रसर थियो । तर इन्जुरी समयमा सुदीपले गोल गर्दै मच्छिन्द्रलाई २–० को जित पक्का गरे । लिगमा १२औं चरणका खेल सकिँदा विभागी टोली नेपाल पुलिस क्लव ३१ अंकसहित शिर्ष स्थानमा छ । मच्छिन्द्र दोस्रो, संकटा तेस्रो र फ्रेन्ड्स क्लव चौथो स्थानमा छन् । शुक्रवार नै भएको दोस्रो खेलमा श्रीभगवती क्लवले विभागीय टोली त्रिभूवन आर्मी क्लवलाई २–१ ले साँघुरो अन्तरले हरायो । तीनै गोल पहिलो हाफमा सम्भव भयो ।
आर्मीले अग्रता जोगाउन नसक्दा जारी लिगमा ११ औं हार व्यहोरेको हो । आर्मीले एक मिनेट पनि नबित्दै श्रजन मल्लको गोलबाट अग्रता लियो । श्रीभगवतीका डिफेन्डरबाट श्रृजनले बल खोस्दै ३१ सेकेण्डमा नै गोल गरेका हुन् । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । सातौं मिनेटमा श्रीभगवतीले फ्रिकिकमार्पmत गोल फर्कायो । कप्तान अनिल परियारले करिब २५ यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक प्रहार गर्दै बललाई जाली चुमाएका हुन् । पहिलो हाफको थप समयमा श्री भगवतीले दोस्रो गोल गर्दै अग्रता लियो ।
सबिर श्रेष्ठले उपलब्ध गराएको उत्कृष्ट पास नियन्त्रणमा लिँदै निशान्त थानेटले गोल गरेका हुन् । त्यसपछि पहिलो हाफमा श्रीभगवती २–१ अगाडि रह्यो । तर दोस्रो हाफमा थप गोल हुन सकेन र श्रीभगवतीले १३ औं खेलमा चौथो जित निकाल्यो । श्री भगवती क्लब १० अंकसहित दशौं स्थानमा उक्लिएको छ । आर्मी भने १३ खेलबाट ६ अंक जोड्दै १३ औं स्थानमा यथावत छ ।






