आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा जुनकिरी विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग्री हस्तान्तरण


२४ श्रावण २०८२, शुक्रबार १७:२३ मा प्रकाशित

बिर्तामोड । आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग्री सहयोग गरेको छ ।

बिर्तामोड ५ मा मुख्य कार्यालय रहेको उक्त सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको अर्जुनधारा नगरपालिका– ११ मा रहेको जुनकिरी सामुदायिक आधारभूत विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

एक औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई समुदायिक प्रयोजनका लागि आवश्यक संख्यामा कुर्सी र विद्यार्थीहरुलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गरिएको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नन्दमान भट्टराई, सञ्चालक समिति सदस्यहरू, विद्यालयका शिक्षक, अभिभावकहरुकोे उपस्थिति थियो ।

विद्यालयमा हाल करिब ८४ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले प्राप्त सहयोगका लागि संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगात्मक कदमले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक वातावरण सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले समुदाय र विद्यालयबीचको सम्बन्ध अझ मजबुत हुनेमा पनि जोड दिनुभयो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नन्दमान भट्टराईले सहकारी संस्था केवल आर्थिक क्रियाकलापमा सीमित नभई सामाजिक उत्तरदायित्व पूरा गर्न पनि प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र समुदाय विकासका क्षेत्रमा सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानीय अभिभावकहरूले संस्थाले गरेको योगदानको प्रशंसा गर्दै यस्ता पहलहरूले गाउँमा सकारात्मक ऊर्जा सिर्जना गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here