मेचीनगर । मेचीनगरमा तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु आत्मनिर्भर बन्ने बाटोतर्फ लागेका छन् । मेचीनगर नगरपालिकाको सहयोग लिएर तरकारी, सुपारी र आलु खेती गर्ने कृषकहरु कृषि व्यापार प्रर्वद्धनमा जुटेका हुन् ।
आलु खेतीमा आत्मनिर्भर बन्दै गरेका मेचीनगर–१५ स्थित भाङ्गा सीतु कृषि फर्मका सञ्चालक रुहीदास राजबंशीले अघिल्लो वर्ष भन्दा यसवर्ष बार्षिक २ लाख बढी नाफा कमाएको बताए ।
उनले अघिल्लो वर्ष ५ लाख नाफा कमाउका थिए भने यसवर्ष ७ लाख नाफा भएको बताएका छन् ।
४ विघा क्षेत्रफलमा आलु खेती गरिरहेका कृषक राजबंशीले यसवर्ष ५५ टन आलु बिक्री गरेको जानकारी दिएका छन् । सुरुमा २६÷२७ रुपैयाँ प्रतिकेजी आजु बिक्री भएपनि पछिल्लो समय ३२÷३३ रुपैयाँले बिक्री गरेको उनको भनाई छ ।
उनका अनुसार यसवर्ष ७ लाख रुपैयाँ आम्दानी भएको छ । गतवर्ष ५ लाख नाफा भएको थियो । आगामी वर्ष करिव ७ विघा जग्गामा खेती गरेर १० लाख नाफा कमाउने लक्ष्य छ ।
नगरपालिकाले २०८१÷०८२ मा आलु खेती प्रर्वद्धनका लागि भाङ्गा सीतु कृषि फर्मका सञ्चालक राजबंशीलाई ५० प्रतिशत अनुदानमा रकम सहयोग गरेको थियो ।
त्यस्तै मेचीनगर–१ तिरिङ स्थित मेची कृषक समूहका अध्यक्ष एवम् सुपारी उत्पादनमा लामो समयदेखि लागेका कृषक रत्नबहादुर कार्कीले नगरपालिकाले सुपारी बेर्ना उत्पादनका लागि सहयोग गरेको बताए ।
उनका अनुसार २०८१/०८२ मा करिव ४० हजार सुपारीको बेर्ना उत्पादन गरिएकोमा १० हजार बेर्ना बिक्री गरिएको छ । २० जना कृषकको समूहलाई जमिन अनुसार एक हजारदेखि १५ सयसम्म विरुवा वितरण गरिएको छ ।
कार्कीले आफ्नै पनि ३२ कठ्ठा जग्गामा तीस वर्ष अघिदेखि सुपारी खेती गरिरहेका छन् । ‘धमिरा रोग र हात्तीका कारण केहि सुपारीका बोटहरु मासिएको छ’, कार्कीले भने–‘तीनसय ५०वटा बोट लगाएको छु । बार्षिक ४ लाख नाफा हुन्छ । यसपालि ४६० वटा लगाएको छु । चारवर्षमा उत्पादन दिन थाल्छ । अर्कोवर्ष एक हजार बोट रोपेर ८÷१० लाख नाफा बनाउने उदेश्य रहेको छ ।’
उनले भने ‘खेतमा सुपारी लटररम्म फलेपछि व्यापारीहरु घरैमा आउने गरेका छन् । व्यापारीलाई बगान नै मोलेर सुपारीको दाना दिने गरिएको छ । अघिल्लो पटक ९५ क्विन्टल भएको थियो । यसपटक ६५ क्विन्टल मात्र भयो । खर्च खासै हुँदैन । बार्षिक ४ लाख नाफा हुन्छ ।
उनले कृषि ज्ञान केन्द्र भद्रपुरबाट पनि ५० प्रतिशत अनुदानमा सुपारी खेतीकाका लागि आवश्यक पर्ने औजार पावर टेलर सहयोग लिएको बताए । यता मेचीनगर–३ का चार जना कृषक मिलेर सञ्चालन गरेको समृद्वि कृषि फर्ममा विभिन्न प्रकारका तरकारीहरु फलाएका छन् । सीजन अनुसारका तरकारीहरु उत्पादन गरेर बजार तथा गाउँमा नै बिक्री गर्ने गरेको फर्मका सञ्चालक पुष्प गुरागाईले बताए ।
विगतमा माओवादी पृष्ठ भूमिबाट आएका नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका कृषक गुरागाईले डेढ विघा जग्गामा चार जना मिलेर तरकारी खेती गरिएको जानकारी दिए ।
सीजनमा करिव १८ क्विन्टल करेला, ५५ क्विन्टल टमाटर, १२ क्विन्टल फुलकोपी, १० क्विन्टल बन्दाकोपी, चाइनीज फर्सी, काँक्रा, खरवुजा लगायतका तरकारी र फलफुल बिक्री गरिएको उनको भनाई छ ।
जैविक विषादीको झोल र प्राङ्गरिक मलबाट अर्गानिक तरकारी उत्पादन गरिएको गुरगाईको दावी छ । उनका अनुसार बाँदर आंतकका कारण भने जस्तो तरकारी खेती गर्न सकिएको छैन । हात्ती भन्दा पनि बाँदरले बढी दुःख दिएको छ ।
‘सिजनमा काँक्रा मात्रै करिव ७० हजार रुपैयाँको बिक्री गरियो’, गुरागाईले भने–‘बार्षिक ४ लाख नाफा हुन्छ । तरकारी पकेट क्षेत्र भनेर २०८१÷८२ मा नगरपालिकाले विउँ विजनमा सहयोग गरेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानका अनुसार २०८१÷०८२ मा सुपारी खेती विस्तारका लागि तालिम कार्यक्रम अन्तर्गत सुपारीको व्यवसायिक उत्पादन वृद्धि गर्ने उद्धेश्यले मेचीनगर–१, २, ३, ४ का ४० जना, मेचीनगर–९ का ४० जना र मेचीनगर–१२ का ४० जना गरि १२० जना सुपारी खेती गर्ने कृषकहरुलाई सहभागी गराई आधुनिक सुपारी खेती प्रविधि सम्बन्धि तालिम समेत दिएको छ ।
यस्तै संघीय सशर्त अनुदान तर्फको तरकारी वाली पकेट विकास कार्यक्रम अन्तर्गत पकेट विकासका लागि छनौट गरिएका वडाहरु मेचीनगर–२, ३ र ७ का २५ जना व्यवसायिक तरकारी उत्पादक कृषकहरुलाई समावेश गराइ १२ विगाहा जग्गामा व्यवसायिक रुपमा तरकारी उत्पादन कार्य गरिएको प्रधानले बताए ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि कार्यक्रम अन्तरगत नगरका कृषकहरुलाई कृषिमा आत्मनिर्भर बन्नका लागि आवश्यक विभिन्न प्रकारका औजारहरु र नगद अनुदान दिएको बताएका छन् ।






