काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ ।
उहाँले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताउनु भयो । उहाँले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक अर्को विकल्प नभएको जस्तो देखिएको बताउनु भयो ।
असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनको लागि अग्रसर भइरहेको उहाँको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नेपाली जनताले साथ दिए भने राजनीतिमा सबै कुरा सम्भव रहेको बताउनु भयो ।
नेपाली जनताले संघीयता र गणतन्त्र असफल भएको महशुस गरिरहेको भन्दै अहिलेको व्यवस्था परिवर्तन गर्न जनताले सोच बनाइरहेको पनि दाबी गर्नुभयो । राजावादी, हिन्दुवादी, राष्ट्रवादी सोच दबाउनका लागि गलत मुद्दाहरु लगाउने र धम्क्याउने प्रयासमा राज्य लागेको उहाँको आरोप छ । नेपालीहरुले संवैधानिक राजतन्त्रको पक्षमा आफ्ना आवाजहरु उठाइरहेको र अब विस्तारै सफल हुने दाबी गर्नुभयो ।
बर्खापछि राष्ट्रवादी शक्तिहरु एकसाथ भएर अघि बढ्ने बताउनु भयो ।






