काठमाडौं । सांसदहरुले नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा उन्नति हुनु गौरवको विषय भएको बताएका छन् ।
बुधवार राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गर्दै सांसदहरुले यस्तो बताएका हुन् ।
उनीहरुले नेपालीहरु नेपाल गरिब देश हो भन्ने बोझिलो पहिचान बोकेर हिँड्नुपरेको बाध्यतालाई अब हटाउन सकिने बताउनु भयो । अबको १६ महिनापछि नेपाल अविकसित देश भन्ने पहिचान छोडेर विकसित र विकासशिल राष्ट्रतर्फ अगाडि बढिरहँदा आफैँलाई गर्ववान्वित महशुस हुने नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले बताउनु भयो ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा विकसित हुनु गौरवको कुरा भएको बताउनु भयो ।
तर विकासशिल बन्दै गर्दा अति कम विकसित देशको हैसियतमा प्राप्त गर्ने धेरै सहुलियत गुम्नसक्ने खतरा रहेको बताउनु भयो । स्तरोन्नतिले नेपालको पुँजीबजारमा पहुँच बढ्ने, स्वाभीमान बढ्ने भएपनि सहुलियतपूर्ण वित्तीय पहुँचमा कमी आउने बताउनु भयो ।
बैठकमा बोल्दै नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले स्तरोन्नतिका लागि निर्धारण गरिएका तीन शर्तहरुमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आयको मापदण्ड पूरा हुन नसकेको बताउनु भयो । मानव सम्पती सूचाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचाङ्कका मापदण्ड पूरा गरी नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु गौरवको विषय भएको बताउनु भयो ।
यो उपलब्धि नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक, आर्थिक क्षेत्रमा भएको प्रगतिको प्रमाण भएको बताउनु भयो । अब स्वदेशमा रोजगारी सिर्जना, निर्यातमा वृद्धि तथा लगानीमैत्री वातावरण र दिगो विकासमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
बैठकमा बोल्दै राष्ट्रिय सदस्य डा. अञ्जान शाक्यले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको सूचिबाट माथि उठेर विकासशिल राष्ट्रको पंक्तिमा सामेल हुनु गौरवको विषय भएको बताउनु भयो । यो कुनैपनि राष्ट्रका लागि एक प्राविधिक स्तरोन्नति मात्रै नभइ स्वाभिमान, उज्वल भविष्यको द्योतक भएको जिकिर गर्नुभयो ।
प्रतिव्यक्ति आय, मानव सम्पती र आर्थिक जोखिम जस्ता विश्वव्यापी मापदण्डहरु पूरा गरेर यो उपलब्धि हाँसिल गरिएको भन्दै अब परनिर्भरताको अध्याय अन्त्य गर्दै आत्मनिर्भरताको नयाँ बिहानीतर्फ लम्किनुपर्ने बताउनु भयो । अबको बाटो भनेको अनुदानमा नभइ उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।
सांसदहरुले पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटनमा लगानी आकर्षित गरी स्वदेशमै रोजगारी सिर्जना गरी युवा र बौद्धिक प्रतिभाको विदेश पलायन रोक्नुपर्ने धारणा राखे । अब नेपालको कुटनीति थप सक्रिय र परिणाममुखी हुनुपर्ने बताए ।






