‘मनसुन शुरु भएको डेढ महिना बितिसक्दा पनि देशभरका ठूला नदीले खतराको तह पार गरेनन्’


१५ श्रावण २०८२, बुधबार १५:०८ मा प्रकाशित


काठमाडौं । नेपालमा मनसुन शुरु भएको करिव डेढ महिना बितिसकेको छ । गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ । ५ सय बढी विपद्का घटना पनि भएका छन् ।

जनधनको क्षति पनि ठूलो भएको छ । तर देशभरका कुनैपनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली बताउनु हुन्छ ।

यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो । तर अहिलेसम्म पनि देशका ठूला नदीहरुमा बाढीले खतराको तह पार गर्न सकेको छैन । आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरुमा खतराको तह भन्दा बढी बाढी नजाने उहाँको भनाइ छ ।

साना नदीहरुमा ठूलो पानी पर्दा ठूलो बाढी आउनसक्ने उहाँले बताउनु भयो । आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरुमा आकस्मिक बाढी आउनसक्ने अनुमान रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिव ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताउनु भयो । हालका दिनहरुमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने बतउनु भयो । 

जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ । उहाँले रसुवाको भोटेकोशीमा मंगलवार राति आएको बाढी सामान्य रहेको बताउनु भयो । बाढी सानो भएपनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो देखिएको र केही नोक्शान गर्ने भएकाले पनि नदी छेउमा शतर्कता अपनाउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here