Tuesday, 24 November 2026
Suryodaya Online
८ मंसिर २०८३, मंगलबार
विज्ञापन

एन्टिबायोटिकको जथाभावी प्रयोगले बढायो स्वास्थ्य चुनौती

Suryodaya Online TV

विराटनगर । एन्टिबायोटिक औषधिको सही प्रयोगबारे जनचेतनाको कमी र जथाभावी प्रयोगका कारण प्रतिजैविक प्रतिरोध (एएमआर) को समस्या बढ्दै गएको कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले बताएका छन् ।

प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि मंगलबार विराटनगरमा आयोजित अन्तरमन्त्रालयगत तथा सरोकारवालासँगको कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री पराजुलीले एन्टिबायोटिक औषधिको बढ्दो र अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको बताए ।

उनले एन्टिबायोटिक औषधि आवश्यकताअनुसार र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए । औषधिको सही प्रयोगबारे सर्वसाधारणमा जनचेतना बढाउन र यसको दुरुपयोग रोक्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले एक स्वास्थ्य (वान हेल्थ) अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्ने उद्देश्यले कार्यशाला आयोजना गरेको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव कृतिपाल सुवेदीले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी र वातावरणसँग पनि जोडिएको विषय भएकाले यसको नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेको बताए । उनले विभिन्न मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय र सहकार्य बढाउँदै समस्या न्यूनीकरणका उपाय पहिचान गर्न कार्यशाला आयोजना गरिएको जानकारी दिए ।

कार्यशालामा स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. रामहरि रेग्मी, औषधि व्यवस्था विभागका प्रतिनिधि राजेश श्रेष्ठ र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख मुकेश नायकले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विराट टिचिङ अस्पतालका विभागीय प्रमुख डा. किशोर गुरुङ, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. केनिन राई, प्रदेश योजना आयोगका सदस्य अनिल थापा र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीलगायतले प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने कामबारे धारणा राखेका थिए ।

कार्यशालामा प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि विभिन्न मन्त्रालय, स्वास्थ्य संस्था, औषधि क्षेत्र, पशुपन्छी सेवा तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private