विराटनगर । कोशी प्रदेशमा झण्डै दुई दशकपछि शल्यचिकित्सकहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन ‘एसएसएनकन २०२६’ आगामी मंसिर १० देखि १२ गतेसम्म (बिहीबारदेखि शनिबारसम्म) मोरङस्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा हुने भएको हो ।
एसएसएन कोशी प्रदेशले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी तीन दिने सम्मेलन बारे जानकारी दिएको छ । कोशी प्रदेशका अध्यक्ष प्रा. डा. रोहितप्रसाद यादवका अनुसार सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियाका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सकको सहभागिता रहनेछ । सम्मेलन केन्द्रीय समाज, काठमाडौँको सहकार्यमा आयोजना गरिएको हो ।
‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि: नवप्रवर्तन, प्रविधि र सहकार्य’ नाराका साथ हुने सम्मेलनमा शल्यक्रियाका नवीन प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति, बिरामी सेवाको गुणस्तर सुधार र चिकित्सा क्षेत्रमा भइरहेका नयाँ अनुसन्धानबारे छलफल हुने आयोजकले जनाएको छ ।
कार्यक्रमअनुसार सम्मेलनको पहिलो दिन मंसिर १० गते तीनवटा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिनेछ । कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वारसम्बन्धी रोगको उपचारबारे व्यावहारिक तालिम दिइनेछ । पेटको क्यान्सर र कलेजोको शल्यक्रियाको तयारीबारे विज्ञसँग अन्तरक्रिया पनि हुनेछ ।
मंसिर ११ र १२ मा मुख्य वैज्ञानिक कार्यक्रम हुनेछ । जसमा अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्र समावेश छन् । हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसम्बन्धी विषयमा छुट्टाछुट्टै सत्र हुनेछन् । रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगजस्ता नवीन विषयमा पनि छलफल गरिनेछ । मंसिर ११ गते साँझ उद्घाटन समारोह हुने कार्यक्रम तालिकामा उल्लेख छ ।
कार्यक्रमअन्तर्गत ल्याप्रोस्कोपिक शल्यक्रियासम्बन्धी सिप प्रतियोगिता ‘एमआईएस च्याम्पियनसिप’ पनि हुनेछ । युवा शल्यचिकित्सक तथा आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र र पोस्टरलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमार्फत अनुभवी र युवा शल्यचिकित्सकबीच ज्ञान तथा अनुभवको आदानप्रदानसँगै सहकार्य विस्तार गर्ने र नेपालमा शल्यचिकित्सा सेवाका चुनौती तथा सम्भावनाबारे राष्ट्रियस्तरमा बहस गर्ने लक्ष्य राखिएको छ । समाजले सम्मेलनमा सहभागी हुन नेपाल तथा विदेशमा कार्यरत सम्पूर्ण शल्यचिकित्सक, प्राध्यापक, आवासीय चिकित्सक, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।