बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित गोमेन्द्र बहुमुखी महाविद्यालयले विए एलएलबी र आर्टिफिसियल इन्टिलिजेन्स (एआई) सम्बन्धी अध्यापन गर्न लागेको छ । महाविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा कानुन र एआई सम्बन्धी अध्यापन गर्न लागेको हो ।
महाविद्यालयले शनिबार पत्रकार सम्मेलन गरी वि.टेक. इन एआईको अध्यापन गर्न लागेको जानकारी दिएको हो । प्रविधिले फड्को मारेसँगै विश्वमा एआईको प्रयोग बढेकाले गोमेन्द्रले उक्त कोर्ष पढाउन लागेको महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन लागिएको एआई कोर्षको लागि ४८ जना विद्यार्थीको कोटा रहेको प्राचार्य खनालले जानकारी दिए । उनका अनुसार सो कोर्ष आठ वटा सेमेष्टारमा पढाई हुने र ६ लाख २३ हजार शुल्क लाग्नेछ । २०५३ सालमा स्थापित कलेजले विसीए इन आइटी, बिबिए, एमबीए, एमसीए, एमसीए इन आइटी अध्यापन भइरहेको छ ।
कलेजले यसै शैक्षिक सत्रदेखि विए एलएलबी कोर्ष समेत अध्यापन गर्न लागेको छ ।
राजश्री जनक विश्वविद्यालयको सम्बन्धनमा सो कोर्ष अध्यापन हुन लागेको गोमेन्द्र कलेजकी प्रमुख सरस्वती भुर्तेल खनालले जानकारी दिइन् । प्लस टूमा जुनसुकै विषय पढेका विद्यार्थीले विए एलएलबी अध्ययन गर्न पाउनेछन् । १० वटा सेमेष्टारको ६ लाख शुल्क लाग्ने कलेजले जनाएको छ । सो कोर्षका लागि ४० जना विद्यार्थी कोटा रहेको छ ।
सबै कार्यक्रममा भर्ना भएका विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गरिने, सेमेष्टार टप एक जनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ ।






