
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताएकी छन्। गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले गणतन्त्रलाई ऐतिहासिक राजनीतिक उपलब्धिका रूपमा उल्लेख गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल निर्माण गर्नु सबै नेपालीको साझा दायित्व रहेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक तथा आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ। शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल भएका छन्। आफ्नो देश आफैँ बनाउने भावना समेत जनस्तरमा बलियो बनेको छ।
सन्देशको अन्त्यमा उनले आर्थिक रूपले सुसम्पन्न नेपाल निर्माण गर्ने महाभियानमा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा मिलोस् भन्ने विश्वास व्यक्त गरेकी छन्।