काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अगाडि बढ्न नदिने बताउनुभएको छ ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक शाहीले देशका नागरिक बेच्ने गिरोहलाई कारबाही गर्न संसदमा आवाज उठाउँदा पनि सरकारले अटेरी गरे सैह्य नहुने चेतावनी दिनुभएको हो ।
उहाँले प्रतिपक्षले मंगलवारकै बैठकमा आफ्ना कुरा राख्छु भन्दा प्रतिपक्षले समय नपाउँदै सत्ता पक्षका सांसदले पाउने भन्ने विषय कुनै हालतमा मान्य नहुने बताउनु भयो । सचेतक शाहीले प्रतिपक्षले गृहमन्त्रीसँग जवाफ नभई राजीनामा मागेको स्पष्ट पार्नुभयो ।
त्यसैगरी उहाँले जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिँदै कहीँ कतै हिंसा भए त्यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनु भयो । प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर, मान्छे भिडाएर युद्ध गर्न खोजिरहनुभएको आरोप लगाउनु भयो ।
उहाँले राप्रपाका प्रमुख सचेतक र समितिका सुरक्षाकर्मी हटाइएको विषय सरकारलाई नै सोध्न आग्रह गर्नुभयो ।