काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार विद्यालय शिक्षा विधेयक लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
बुधवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले यस्तो दाबी गर्नुभएको हो । उहाँले विधेयकलाई लम्ब्याउने पक्षमा सरकार नरहेको र समितिको बैठक छिटो छिटो बसेर टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले कतिपय सहमति हुन बाँकी रहेका विषयहरु राजनीतिक तहबाट सहमति गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले नटुंगेका विषयहरु थाँती राखेर विधेयकको छmलफल नरोकी अघि बढ्न आग्रह गर्नुभयो ।
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद एवं निःवर्तमा शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक बनाउँदा विद्यार्थीप्रति उत्तरदायी भएर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको पूर्वाधारको अवस्थाप्रति सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले मानवीय पूर्वाधारको पक्षलाई पनि हेरेर विधेयक बनाउनुपर्ने बताउनु भयो । आजको विद्यालय शिक्षाको सिकाइमा सुधार ल्याउन जरुरी रहेको र शैक्षिक गुणस्तरका लागि सिकाईलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले निजी, सार्वजनिक गुठी र निजी गुठीका सञ्चालकहरुसँग बसेर छलफल गर्न आग्रह गर्नुभयो । उहाँले अनौपचारिक सुझावलाई औपचारिक बनाउन माग गर्नुभयो ।
उहाँले शिक्षकको इन्ट्रि उमेर महिला र पुरुषको एउटै राख्नुपर्ने लगायतका विषयहरु छुटेको भन्दै समितिको ध्यानाकर्षण गराउनु भयो । सांसद शर्माले कतिपय सम्झौता कानून बनाएर गर्नुपर्ने भएकाले सरकार स्पष्ट हुनुपर्ने बताउनु भयो ।