झापा — झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनी ट्रकबाट १,६३६ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
प्रहरीले उक्त ट्रकमा सवार धनकुटाको शहीदभूमि नगरपालिका–४ का महेश राई र इलामको माइजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गङ्गा बहादुर बस्नेतलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ८७ हजार ८८० रुपैयाँ नगद र ५ वटा मोबाइल सेट पनि बरामद गरिएको छ।
सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्ति, बरामद गाँजा र ट्रकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइसकेको जनाएको छ।