काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाउनुभएको छ ।
१३७ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता गरिरहेको सहसंयोजक नेपालको भनाई थियो ।
उहाँले सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको जिकिर समेत गर्नुभयो । उहाँले सरकारलाई गलत बाटोमा जान नदिने सावधान गराउनुपर्ने अवस्था आएको समेत बताउनु भयो । सहसंयोजक नेपालले सरकारले जनतालाई पीडा र यातना दिने काम गर्न नमिल्ने पनि बताउनु भयो ।
सहसंयोजक नेपालले सरकारको गलत कामको विरोध गर्न पनि पार्टीमा आवद्ध मजुदुर नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले सरकारका कदम जायज र उचित नभएकाले त्यसको विरोध गर्नुपर्ने अवस्था आएको दाबी समेत गर्नुभयो ।






