काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले २०८२ को मंसिर मसान्तसम्म काँग्रेसको अधिवेशन हुन नसके नेपाली काँग्रेस कमजोर बन्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको अधिवेशन २०८२ मंसिर मसान्तसम्म भएन भने नेपाली काँग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गर्नुभयो ।
सांसद कोईरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गर्नुभयो । देश विकासका लागि नेपाली काँग्रेस एक ढिक्का हुन जरुरी रहेको बताउनु भयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तत नरहेको दाबी गर्नुभयो ।