‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले


१८ बैशाख २०८३, शुक्रबार १३:३९ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । 
आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार सुशासनको मामिलामा निर्मम हुने बताउनु भयो ।

सरकारले सुशासनलाई म्याक्रो र माइक्रो दुई तहमा विभाजन गरेर सुधारका काम अगाडि बढाएको स्पष्ट पार्नुभयो । मन्त्री वाग्लेकाअनुसार म्याक्रो सुशासन भन्नाले राज्यका संयन्त्र र नीतिहरूमा हुने संस्थागत कब्जालाई सच्याउनु हो । माइक्रो सुशासन अन्तर्गत आम जनताले पाउने सेवा प्रवाहमा सुधार गर्ने, सरकारी अड्डामा लाइन बस्नु नपर्ने, घुस खुवाउनु नपर्ने र हात–हातकै फोनबाट डिजिटल माध्यमबाट सेवा पाउने सुनिश्चितता गर्न सरकार लागेको उहाँले बताउनु भयो । 


विवादस्पद व्यापारी दीपक भट्ट र उनका साझादेर अर्का व्यापारीहरु सुलभ अग्रवाल, शेखर गोल्छा लगायतलाई सरकारले पक्राउ गरेपछि निजी क्षेत्रले विरोध गरिरहेका बेला अर्थमन्त्री वाग्लेले अपराध गर्ने कसैलाई नछाडिने बताउनु भयो । उहाँले अपराध गर्नेहरुलाई पक्राउ गर्दा मनोबल खस्कियो भनेर निजी क्षेत्रले भन्न नहुने समेत बताउनु भयो । 
मन्त्री वाग्लेले इमान्दार व्यवसायीहरूलाई नतर्सिन आग्रह गर्नुभयो ।  

 विभागका जायज अनुसन्धानका कामहरू अब आन्तरिक राजश्व विभाग, सम्पती शुद्धीकरण वा सम्बन्धित मन्त्रालयमार्फत हुने उहाँको भनाइ छ ।
सरकारले वि.सं. २०१७/१८ सालदेखिका पुराना र असान्दर्भिक १७ वटा ऐनहरू खारेज गर्ने प्रक्रिया शुरु गरेको र १५ वटा प्रतिवेदनका सिफारिसअनुसार कानूनी सुधार गर्न लागिएको जानकारी पनि उहाँले दिनुभयो । 


अर्थमन्त्री वाग्लेले नेपालको कतिपय कानूनी व्यवस्थाले इमान्दार व्यवसायीलाई समेत बेइमान बनाउने खालको रहेको स्वीकार गर्दै मन्त्री वाग्लेले त्यसमा सुधार गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । भारतमा नितिन गडकरीले पूर्वाधार क्षेत्रमा गरेको चमत्कारलाई अनुकरण गर्दै नेपालमा पनि ‘प्राइभेट्ली फाइनान्स्ड इन्फ्रास्ट्रक्चर’ को मोडलमा जानुपर्ने र त्यसैअनुसार अब सरका अघि बढ्ने उहाँको भनाइ थियो । स्वदेशी, प्रवासी र विदेशी लगानी बिना राष्ट्रिय महत्वाकांक्षा पूरा नहुने भएकोले निजी क्षेत्रलाई स्वस्थ साझेदारका रूपमा अगाडि बढाउने आफ्नो योजना रहेको समेत उहाँले सुनाउनु भयो । 


सरकार गठन भएको ३० दिनमा ३० भन्दा बढी सुधारका प्रयास भएको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले भारतीय पर्यटकहरूले सीमा नाकामा भोग्ने झन्झट अन्त्य गर्न अनलाइन प्रणाली शुरु गरिएको बताउनुभयो । अर्थ मन्त्रालय आफैँले चार–पाँचवटा डिजिटलाइजेसनका अभियानहरू सुरु गरिसकेको र यसले सेवा प्रवाहलाई पारदर्शी बनाउने उहाँको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here