बल्खुका अनधिकृत संरचनामा सरकारको डोजरः आज ६८६ घरटहरा हटाउने लक्ष्य


१८ बैशाख २०८३, शुक्रबार १५:१४ मा प्रकाशित


काठमाडौं । सरकारले काठमाडौंको बल्खुस्थित वागमती नदी किनारमा रहेका अनधिकृत सुकुम्बासी बस्तीका घरटहरा हटाउन शुरु गरेको छ ।


दोस्रो चरणको अभियानअन्तर्गत आज बल्खु, वंशीघाट, वसन्तनगर र अनामनगर लगायतका स्थानमा रहेका अनधिकृत संरचनाहरूमा डोजर चलाइएको हो । नदी किनारका क्षेत्रलाई अतिक्रमणमुक्त गराउने उद्देश्यसहित शुरु गरिएको यस अभियानको पहिलो चरणमा गैरीधारा, थापाथली र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीका संरचनाहरू हटाइएको थियो ।

आजको कारबाहीमा कुल ६ सय ८६ वटा संरचना भत्काउने लक्ष्य राखिएको छ । जसअन्तर्गत बल्खु क्षेत्रका ४ सय ८६ र वंशीघाट क्षेत्रका २ सय वटा घरटहराहरू डोजर प्रयोग गरी खाली गराउन थालिएको छ ।

बर्खायाममा नदीमा आउने बाढी र त्यसबाट हुनसक्ने सम्भावित डुबानका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले यो कदम चालेको हो । नागरिकको जीउधनको रक्षा र नदीको प्राकृतिक बहाव सुनिश्चित गर्न यस कार्यलाई उच्च प्राथमिकतामा राखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

यसपछिको योजनाका सम्बन्धमा जानकारी दिँदै सरकारले अब क्रमशः शङ्खमूललगायत अन्य माथिल्लो तटीय (अपस्ट्रिम) क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाउने कार्यलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here