मजदुरका अधिकार खोस्ने ‘पपुलिजम’ विरुद्ध सशक्त आन्दोलन गर्ने अध्यक्ष सिम्खडाको चेतावनी


१८ बैशाख २०८३, शुक्रबार १३:४२ मा प्रकाशित


काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगतबहादुर सिम्खडाले लोकप्रियतावादको नाममा श्रमिकका हक–अधिकार र ट्रेड युनियन आन्दोलनमाथि भइरहेको प्रहार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।


१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष सिम्खडाले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको रगत र पसिना बगेको स्मरण गर्दै आज तिनै श्रमिकका झुपडीमाथि डोजर चलाउनु र ट्रेड युनियन अधिकारमाथि बन्देज लगाउन खोज्नु फाँसीवादी चिन्तन भएको आरोप लगाउनु भयो । पछिल्लो समय विकसित डिजिटल अर्थतन्त्र र ‘गिग इकोनोमी’का नाममा श्रमिकहरूलाई आधुनिक दास बनाउन खोजिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

राइडर, अनलाइन भेन्डर र आउटसोर्सिङमा कार्यरत श्रमिकहरूलाई श्रम ऐनको दायराभन्दा बाहिर राखेर मालिक विहीन बनाउने खेल भइरहेको उहाँको तर्क थियो । उहाँले श्रम ऐनका मजदुर विरोधी दफाहरू खारेज गर्न सरकारसँग माग गर्नुभयो ।

विशेष गरी श्रम ऐनको दफा १४५ (कटौती), दफा १०९ (सरुवा), दफा ३९ (जगेडा) र दफा ५८ (आउटसोर्सिङ) लाई श्रमिक विरोधी भन्दै ती प्रावधानहरू तत्काल हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिकको न्युनतम ज्यालाले जीवन धान्न मुस्किल परेको उल्लेख गर्दै सिम्खडाले वैज्ञानिक ढङ्गले तलब भत्ता वृद्धि गर्न र श्रमिकका छोराछोरीका लागि गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको ग्यारेन्टी गर्न राज्यसँग माग गर्नुभयो । 

उहाँले अबको आन्दोलन उद्योग र कलकारखानामा मात्र सिमित नभई सडक, सदन र डिजिटल प्लेटफर्मसम्म विस्तार हुने उद्घोष गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here