बिर्तामोड । राष्ट्रिय युवा संघसहित बिर्तामोडका युवा संघ संगठनहरुले सुरक्षा व्यवस्था मजवुद बनाउन आग्रह गरेका छन् । युवा संघका नेता खगेन्द्रराज आङदेम्वेलगायत तीन जना युवामाथि हत्या गर्ने योजनासहित आक्रमण भएको घटनाका विषयमा पत्रकार सम्मेलन गर्दै दोषीलाई कार्वाही गर्न माग गरेका हुन् ।
राष्ट्रिय युवा संघ, तरुण दल, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोडको संयुक्त पत्रकार सम्मेलनमा शान्ति सुरक्षा मजवुद बनाउन आग्रह गरिएको छ । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसनिकट तरुण दलका बिर्तामोड नगर कमिटी सभापति रमेश चौधरी, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर कमिटी अध्यक्ष प्रिन्स शेखलगायतको उपस्थिति रहेको थियो ।
गत फागुन २६ गते राती नेता आङदेम्वेलगायत तीन जनामाथि सांघातिक आक्रमण भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ र उनकै भतिज दुर्गा राई पक्राउ परिसकेका छन् । अन्य केही फरार व्यक्तिहरुलाई चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै युवा संघका बिर्तामोड नगर कमिटी अध्यक्ष रोहित ओलीले घटनामा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याई कठोर कारबाही गर्न माग गरेका छन् । गत फागुन २६ गते मध्यरातमा विर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोडमा युवा संघका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज आङदेम्वे तथा संघका विर्तामोड नगर कमिटी सदस्य विश्वदिप राजवंशी र अजय खवासमाथि आक्रमण भएको थियो ।
सांघातिक आक्रमणवाट घाइते बनेका आङदेम्वे हाल विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत छन् । उनलाई लागेको चोटको सफल शल्यक्रिया पश्चात् क्रमशः सुधारको क्रममा रहेको जनाइएको छ । राजवंशी ३ दिनको उपचारपश्चात् बीएण्डसी अस्पतालवाट डिस्चार्ज भएका छन् भने अजय खवास पनि ५ दिनको उपचारपश्चात् डिस्चार्ज भएका छन् ।