झापा कप आजदेखी सुरु, आर्मीकाे विजयी सुरुवात


२९ मंसिर २०८१, शनिबार १७:२४ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए ।


आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् । मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चोधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् । खेलमा मोरङले खासै मुभ बनाउन सकेन । खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो । खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।

भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here