काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरिरहेको बताउनुभएको छ ।
शुक्रवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको र मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको आरोप लगाउनु भयो ।
उहाँले नराम्रा कामहरुको नेतृत्व (माओवादी केन्द्र) का अध्यक्ष दाहालले गरिरहनुभएको बताउनु भयो । उहाँले (माओवादी केन्द्र) नेकपा एमाले र आफूबिरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको बताउनु भयो । उहाँले आफू जतिसुकै भ्रम पैदा गरेपनि सहन गरेर बसिरहेको बताउनु भयो ।
झुटको खण्डन गरेर आफूहरु अघि बढ्ने र झुटोलाई पराजित गरेरै छोड्ने उहाँको अठोट थियो । अध्यक्ष दाहाल भ्रष्टाचारीको संरक्षक, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने मान्छे भएको बताउनु भयो । नेकपा एमाले जनताको मनमा बस्यो र एमाले अध्यक्ष स्थापित भयो भन्ने पीर माओवादीलाई परेको बताउनु भयो ।
अध्यक्ष ओलीले देशमा कानून रहेको र कानूनको राज देशमा बनाएर छोड्ने बताउनु भयो । देशमा भ्रष्टाचारको अन्त्य गरेर छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले कुनैपनि भ्रष्टाचारीले कुनै भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, असंवैधानिक, गैरकानूनी, हिंसात्मक, झुट, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किन्छु भन्ने नसोच्न चेतावनी दिनुभयो । उहाँले भ्रष्टाचार गर्ने जो कोही भएपनि मुख नहेरिने बताउनु भयो ।






