बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


२५ मंसिर २०८१, मंगलवार १७:३३ मा प्रकाशित

झापा । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिनुभयाे । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, यो गम्भीर विषय भएकाले ४ दिनमा अनुसन्धान सकिने विषय नै होइन, त्यसैले फेरि म्याद माग्छौं । इलाका प्रहरी कार्यालय, अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए ।

तर, त्यसको बहानामा उनले जबरजस्ती करणी गरेको आरोप छ । बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टास्थित महिला सेलका अधिकारीहरुलाई घटनाबारे सुनाएका थिए । भारत जान लागेका बेला उद्दार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकरभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय, अनारमनीमा पठाइदिएको थियो ।

अनारमनीमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

२०७९ सालको निर्वाचनमा पनि शिवाकोटी टिकटका प्रबल दाबेदार थिए । यद्यपि, पछि एमालेले तत्कालीन उपमेयर पवित्रा महतरा प्रसाईंलाई अघि सारेको थियो । हाल बिर्तामोडमा प्रसाईं मेयर छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here