काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गर्नुभयो ।
उहाँले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताउनु भयो । उहाँले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानविय व्यवहार गरिएको बताउनु भयो ।
उहाँले अनुसन्धान भन्दै विभिन्न जिल्लामा पु¥याउने काम गरेकोप्रति आपत्ति जनाउनु भयो । उहाँले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय भएपनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको बताउनु भयो ।
उहाँले लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने बताउनु भयो । उहाँले नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय स्पष्ट रुपमा हुनुपर्ने बताउनु भयो ।
उहाँले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पु¥याउने काम गरिरहेको बताउनु भयो । उहाँले लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्न नहुनेमा जोड दिनुभयो ।