Monday, 23 November 2026
Suryodaya Online
७ मंसिर २०८३, सोमबार
विज्ञापन

Suryodaya Online TV

कोशीका १४ जिल्लामा ‘सुरक्षित यात्रा’ अभियान सुरु

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा सोमबारदेखि ‘सुरक्षित यात्रा’ अभियान सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगर बसपार्कबाट अभियानको शुभारम्भ गरिएको हो ।

‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ नारासहित सुरु भएको अभियान प्रदेशका १४ वटै जिल्लामा सञ्चालन गरिने कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले बताए ।

उनका अनुसार अभियानअन्तर्गत चालक तथा सहचालकलाई प्रशिक्षण, जनचेतनामूलक कार्यक्रम, पर्चा तथा पम्प्लेट वितरण, संयुक्त प्रहरी चेकजाँच र सीसीटीभी जडानलगायतका काम गरिनेछ । सचेतना र कानुनी कारबाहीलाई सँगसँगै अघि बढाएर सडक दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।

खनालले सवारी दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही रहेको भन्दै मापसे तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने, लाइसेन्सबिना गाडी चलाउने, हेल्मेट तथा सिटबेल्ट प्रयोग नगर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले सडक सुशासन कायम गर्दै दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले मोरङमा अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private