विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा ५६ करोड रुपैयाँ लगानीमा फोहोरमैला प्रशोधन तथा व्यवस्थापन परियोजना निर्माण हुने भएको छ। परियोजनामा कर्जा लगानी गर्ने विषयमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र विकासकर्ता कम्पनी रिभाइभ इन्फ्राटेक एण्ड इन्भेष्टमेन्ट प्रालिबीच समझदारी भएको छ।
दुहबीमा १६ बिघा जग्गामा निर्माण हुने परियोजनाका लागि सोमबार विराटनगरस्थित बिग होटलमा आयोजित कार्यक्रममा दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
परियोजना निर्माण भएपछि दुहबी क्षेत्रको फोहोरमैला व्यवस्थापन तथा प्रशोधनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगर प्रमुख वेदनारायण गच्छदारले कार्यक्रममा परियोजनाको आवश्यकता, सम्भावना र अपेक्षाबारे धारणा राखेका थिए।
यसैबीच कोशी प्रदेशका पूर्वाधार आयोजनामा लगानी विस्तार गर्ने उद्देश्यले प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरण र निफ्राबीच छुट्टै समझदारी भएको छ।
एक वर्ष अवधि रहने उक्त समझदारीअनुसार कोशी प्रदेशका सम्भाव्य पूर्वाधार आयोजना पहिचान गरी सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीमा अघि बढाइनेछ।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले कोशीका कम्तीमा पाँचवटा आयोजनामा निफ्राले लगानी गर्नुपर्ने धारणा राखेका छन्।
निफ्राले यसअघि पनि धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटार स्काई वाक परियोजनामा कर्जा लगानी गरेको थियो। वन्डर्स एम्युजमेन्ट पार्क एण्ड एट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त परियोजना हाल सञ्चालनमा छ।
दुहबीको फोहोरमैला व्यवस्थापन परियोजनामा भएको लगानीसम्बन्धी समझदारीले स्थानीय तहमा फोहोर व्यवस्थापनको पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउने अपेक्षा गरिएको छ।